राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थ तथा विभिन्न शिक्षालयहरुमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका १ हजार २ सय ९६ जना प्रशिक्षार्थी जवानहरु दीक्षित भएका छन्।
करिब ११ महिनाको कठोर तथा अनुशासित तालिम पूरा गरेका प्रशिक्षार्थी जवानहरू असोज २९ गते दीक्षित भई राष्ट्र र नागरिकको सेवामा समर्पित हुने उद्देश्य सहित कार्यक्षेत्रमा प्रवेश गरेका हुन्।
दीक्षित जवानहरूमध्ये राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थबाट १२३ जना, पाथिभरा जवान तालिम शिक्षालय, झापाबाट ११७ जना, दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीबाट ११६ जना, संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना तालिम शिक्षालय, ककनी, नुवाकोटबाट २३३ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट ११९ जना रहेका छन्।
त्यसैगरी, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटन, पोखराबाट ११५ जना, सीमा सुरक्षा तालिम शिक्षालय, बर्दघाट, नवलपरासी (पश्चिम) बाट १२५ जना, सशस्त्र प्रहरी जवान तालिम शिक्षालय, नौबस्ता, बाँकेबाट ११६ जना, राजस्व भन्सार तथा औद्योगिक सुरक्षा तालिम शिक्षालय, टीकापुर, कैलालीबाट ११३ जना र बडिमालिका जवान तालिम शिक्षालय, वनभेहडा, कैलालीबाट ११९ जना प्रशिक्षार्थी जवान दीक्षित भएका हुन्।
लामो अवधिसम्म सञ्चालन हुने कठिन तथा व्यावसायिक तालिमका क्रममा प्रशिक्षार्थीहरूले हासिल गरेको फौजी ज्ञान, सीप, कला कौशल र व्यावसायिक दक्षताले उनीहरूमा अनुशासन, इमानदारिता, कर्तव्यनिष्ठा, राष्ट्रप्रतिको समर्पण, मानवीय संवेदनशीलता तथा सांगठनिक जिम्मेवारीबोध अभिवृद्धि हुनुका साथै तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा रूपान्तरण गर्दै कार्यक्षेत्रमा उच्च व्यावसायिक मर्यादा, नैतिक आचरण र जवाफदेहितालाई आत्मसात् गरी राष्ट्रको सार्वभौमसत्ता, राष्ट्रिय एकता, सुरक्षा तथा नागरिकको सेवामा समर्पित रहन प्रेरित गर्ने सशस्त्र प्रहरीले जनाएको छ।















