सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ। त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन्।
यी दुई टोलीबीचको खेल आज अपराह्न साढे ४ बजे सुरु हुने तालिका छ। प्रतियोगितामा अघिल्ला संस्करणकै आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स उपाधिका लागि मैदानमा उत्रिनेछन्।
सिंगल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुने प्रतियोगिता लिग चरणपछि इलिमिनेटर र क्वालिफायर हुँदै अघि बढ्नेछ। प्रतियोगिताको फाइनल खेल मंसिर ५ गते हुनेछ।
यस संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ। नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्। अघिल्लो संस्करणको विजेता लुम्बिनीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो।
विदेशी स्टार खेलाडीको आकर्षण
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट मान्यता प्राप्त यस संस्करणमा विभिन्न देशका चर्चित खेलाडीको सहभागिता रहनेछ।
अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर काठमाडौं गोर्खाजबाट खेल्दैछन्। वेस्ट इन्डिजका आन्द्रे रसेल तथा श्रीलंकाका एन्जेलो म्याथ्युज र चरिथ असलंकाजस्ता खेलाडी विराटनगर किङ्समा आबद्ध छन्।
सुदूरपश्चिम रोयल्समा सेरफान रदरफोर्ड र फेबियन एलेन अनुबन्ध भएका छन्। पोखरा एभेन्जर्समा बंगलादेशका शाकिब अल हसन, मोहम्मद सैफुद्दिन र मेहदी हसनजस्ता खेलाडी रहनेछन्।
त्यस्तै, कर्णाली याक्समा दक्षिण अफ्रिकाका डेभिड मिलर, पाकिस्तानका हुसैन तलात र शाहबजादा फरहानलगायत खेलाडी आबद्ध छन्। लुम्बिनी लायन्समा बंगलादेशका सामी हुसेन रहेका छन्।
यस संस्करणमा पाकिस्तानका मोहम्मद नवाज, हैदर अली, हसन अली र इफ्तिखार अहमद, इंग्ल्यान्डका मोइन अली तथा जिम्बाबेका कप्तान सिकन्दर राजालगायत खेलाडीको प्रदर्शन पनि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।
पहिलोपटक डीआरएस प्रयोग गरिँदै
तेस्रो संस्करणको अर्को विशेषता नेपालमै पहिलोपटक एनपीएलमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधिको प्रयोग हुनु हो।
मैदानमा रहेका अम्पायरको निर्णयमा शंका भएमा टोलीले रिभ्यु लिन सक्नेछन्। एलबीडब्लू, रनआउट, स्टम्पिङ, फ्रन्टफुट नोबल र वाइडसम्बन्धी निर्णय पुनरावलोकन गर्न प्रविधिको प्रयोग गरिनेछ। त्यस्तै, छक्काको दूरी र उचाइ मापनमा समेत प्रविधिको सहयोग लिइनेछ।
नियमअनुसार प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा रिभ्यु लिन पाउनेछ। विदेशी स्टार खेलाडीको सहभागिता, बढाइएको पुरस्कार राशि र डीआरएस प्रविधिको प्रयोगले यस संस्करणको एनपीएललाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउने अपेक्षा गरिएको छ।















