भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्न आवश्यक जनशक्ति थपेर लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिने बताएकी छन् ।
चितवनका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, अन्य सरोकारवाला तथा भूमि समस्या समाधान समितिका अधिकारीसँग छलफल गरेपछि मन्त्री रावलले लालपुर्जा वितरणका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिने स्पष्ट पारेकी हुन् ।
उनले प्राप्त सुझावका आधारमा कामलाई छिटो अघि बढाउने विषयमा छलफल गरिएको बताइन् ।
‘नियम र नीतिका कारण काम रोक्ने वा बाधा–अड्काउ हुने अवस्था छैन । जिम्मेवारीमा रहनुभएका व्यक्तिले कति छिटो अगाडि बढाउनुहुन्छ भन्ने विषय नियतमा भर पर्छ,’ उनले भनिन् ।
मन्त्री रावलले लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिन जिल्ला समितिलाई आवश्यक सुझाव दिन आग्रह गरिएको जानकारी दिइन् ।
उनले सहकारीपीडित तथा भूमिहीन नागरिकसँग प्रत्यक्ष संवाद गरी उनीहरूका समस्या र गुनासा सुनेको बताइन् । साथै, सरकारले गरिरहेका कामबारे स्थानीयलाई जानकारी गराइएको पनि उनले उल्लेख गरिन् ।















