युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

Image

दक्षिणी युक्रेनमा मानवीय सहायता लिन भेला भएका मानिसहरूलाई लक्षित गरी रुसले गरेको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या मंगलबार २९ पुगेको छ भने ४८ जना अझै बेपत्ता छन् ।

यसैबीच, रुसले रातभर युक्रेनका विभिन्न क्षेत्रमा विद्युत् केन्द्रलाई लक्षित गरी आक्रमण गर्दा अस्पतालहरूमा क्षति पुगेको छ भने दर्जनौँ मानिस घाइते भएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार, रुसले नौ क्षेत्रमा २८९ वटा आक्रमणकारी ड्रोन, १७ वटा ब्यालेस्टिक क्षेप्यास्त्र र ५९ वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको थियो । आक्रमणपछि देशका विभिन्न क्षेत्रमा आपतकालीन विद्युत् कटौती गर्नुपरेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् । उनले रुसी आक्रमण अमेरिकी निर्वाचनकै दिन भएको उल्लेख गरे। 

‘रुसीहरूले अमेरिकाले उनीहरूको यो सन्देशलाई ध्यान दिनेछैन भन्ने ठानेका छन्,’ उनले भने, ‘तर हामीले यस्तो आतंकलाई गम्भीरतापूर्वक लिनुपर्छ र रोक्नुपर्छ । युक्रेनलाई आफ्नो आकाशको रक्षा गर्न सहयोग गर्न आवश्यक छ । अन्यथा रुसले क्षेप्यास्त्र आक्रमण गर्न कहिल्यै छाड्ने छैन ।’

दक्षिणी जापोरिजिया क्षेत्रमा पर्ने कोम्युशुभाखा गाउँमा मानवीय सहायता वितरणका लागि प्रयोग भइरहेको विद्यालय भवनलाई लक्षित गरी रुसले निर्देशित बम आक्रमण गरेको थियो । त्यसपछि नजिकै रहेको आश्रयस्थललाई पनि निशाना बनाइएको थियो ।

क्षेत्रीय सैन्य प्रशासनका कार्यवाहक प्रमुख मिखाइलो सेमिकिनले मंगलबार दिएको जानकारीअनुसार, मृत्यु हुनेमा चार प्रहरी अधिकारी र दुई उद्धारकर्मी पनि छन् । आक्रमणमा कम्तीमा पाँच जना घाइते भएका छन् ।

युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र र ड्रोनको संयुक्त आक्रमणमा कम्तीमा ६२ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
    
नेमिस्ल्यान्स्की जिल्लास्थित एउटा स्वास्थ्य संस्थामा आक्रमणबाट क्षति पुगेको छ । साथै, चारवटा आवासीय भवनका झ्याल फुटेका छन् भने केही सवारीसाधनमा पनि क्षति पुगेको छ । क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेह सिनेहुबोभका अनुसार, दुई सयभन्दा बढी बिरामीलाई अन्य स्वास्थ्य संस्थामा सारिएको छ ।

यसैगरी, ड्निप्रो क्षेत्रमा रुसी आक्रमणमा एक जनाको मृत्यु र १७ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार, मङ्गलबार बिहान उद्धारकर्मीहरूले भग्नावशेषबाट एक महिलालाई जीवितै उद्धार गरेका छन् ।

क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्द्र हान्जाका अनुसार, उक्त आक्रमणमा बहिरङ्ग सेवा केन्द्र र एउटा अस्पतालमा क्षति पुगेको छ । अस्पतालका बिरामीहरूलाई अन्य स्वास्थ्य संस्थामा सारिएको छ ।

रुसको रक्षा मन्त्रालयले मङ्गलबार रातभरमा युक्रेनका ८५६ वटा ड्रोन खसालेको दाबी गरेको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनले रुसी राजधानीलाई लक्षित गरी ४९३ वटा ड्रोन प्रहार गरिएको बताएका छन् ।

युक्रेनी ड्रोन आक्रमणमा रुसको यारोस्लाभ सहरस्थित एउटा तेल प्रशोधन केन्द्रका दुई कर्मचारी घाइते भएको क्षेत्रीय गभर्नर मिखाइल येभ्रायेभले मङ्गलबार बताए ।  उनका अनुसार, आक्रमणबाट प्रशोधन केन्द्रको पूर्वाधारमा पनि क्षति पुगेको छ ।

ऊर्जा पूर्वाधारमा भएका आक्रमणपछि रुसको नियन्त्रणमा रहेको क्रिमियाका दक्षिणी, पश्चिमी र पूर्वी क्षेत्रमा आलोपालो विद्युत् कटौती लागू गरिएको मस्को समर्थित अधिकारीहरूले मंगलबार बताएका छन् ।