इरानको समाचार एजेन्सी तस्निमले प्रारम्भिक रिपोर्ट उद्धृत गर्दै दुईवटा क्षेप्यास्त्र केसम टापुमा खसेको जनाएको छ।
इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले पनि स्थानीयलाई उद्धृत गर्दै लेखेको छ, ‘विमानको आवाज सुनिएपछि टापुको सोजा क्षेत्रमा दुईवटा प्रक्षेपण खसेका छन्।’
तस्निमका अनुसार घटनामा सम्भावित हताहतबारे भने अहिलेसम्म कुनै आधिकारिक जानकारी आइसकेको छैन।
यसैबिच इरानको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, ‘इरानी सेनाले केसम टापुमाथि अमेरिकी एमक्यू-९ ड्रोन खसालेको दाबी गरेको छ।’
यद्यपि यो ड्रोन खसालिएको कुरा अझै स्वतन्त्र रूपमा पुष्टि भएको छैन। ड्रोन खसालिएको र केसम टापुमा खसेका क्षेप्यास्त्रबिच कुनै सम्बन्ध छ कि छैन भन्ने कुरा पनि स्पष्ट छैन।












