जुवातास खेलिरहेको अवस्थामा मुलुकका छुट्टाछुट्टै स्थानबाट ३४ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाबाट जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३० हजार २३५ रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।
त्यस्तै, ललितपुरको गोदावरी नगरपालिका-६ टिकाभैरवबाट जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टिकाभैरवबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ६० हजार रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
यस्तै, ललितपुरकै गोदावरी नगरपालिका-५ लेलेबाट जुवातास खेलिरहेको अवस्थामा यम कुमारसमेत पाँचजनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत चापागाउँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ६३५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।














