नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार डे–अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न प्राधिकरणलाई अनुमति दिएको हो ।
प्राधिकरणले २०८३ मंसिर १ देखि २०८४ साउन १५ गतेसम्म विद्युत् आयात गर्न पाउनेछ । यसअनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा आईएक्सबाट दैनिक विद्युत् आयात गर्न सकिनेछ ।
अनुमतिअनुसार, कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारणलाइनमार्फत ३०० मेगावाट विद्युत् आयत गर्न सकिनेछ । त्यस्तै, न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारणलाइनमार्फत ५० मेगावाट गरी कुल ३५० मेगावाट विद्युत् आयात गर्न सकिनेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भारतबाट ३५० मेगावाट विद्युत् आयातको अनुमति प्राप्त भएको जानकारी दिए । आगामी हिउँदयाममा विद्युत् माग र आपूर्तिको व्यवस्थापन गर्न थप सहज हुने बताए ।
रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारणलाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमता भएका आयोजनाहरू राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन् । यस लगायतका अवस्थालाई ध्यानमा राखेर आगामी हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
गत वर्षको विद्युत् माग र उत्पादनको अवस्थालाई आधार मानेर गरिएको विश्लेषणअनुसार यस वर्ष पुस, माघ, फागुन र चैत गरी चार महिनासम्म विद्युत् माग आन्तरिक उत्पादनभन्दा बढी हुने अनुमान छ ।
यस अवधिमा भारतबाट विद्युत् आयात गर्नुपर्ने देखिएको छ । विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म निरन्तर विद्युत् आयात गर्नुपर्ने अनुमान गरिएको छ ।
यस्तै, उच्च माग हुने पिक आवरमा दैनिक ८०० देखि ९०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको अनुमान गरिएको छ । पुस र चैतमा भने तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने आकलन गरिएको छ ।
आगामी वैशाखदेखि नदीहरूमा पानीको बहाव क्रमशः बढ्दै जाने भएकाले आन्तरिक विद्युत् उत्पादनमा वृद्धि भई आयात प्रतिस्थापन हुँदै विद्युत् निर्यात सुरु हुने अनुमान गरिएको छ ।
५६ मेगावाट विद्युत् निर्यात अनुमति
प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजार (आईएक्स)मा बिक्री गर्न पनि अनुमति पाएको छ ।
प्राधिकरणले २०८३ मंसिर १ देखि २०८४ साउन १५ गतेसम्म उक्त विद्युत् निर्यात गर्न पाउनेछ ।














