पूर्वाधार विकासमन्त्री सुनील लम्सालले काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गर्ने बताएका छन् । बुधबार काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाको महादेवटार सुरुङ ब्रेक थ्रु कार्यक्रममा बोल्दै उनले संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने कम्पनीको ठेक्का रद्द गर्ने बताएका हुन् ।
उनले फास्ट ट्रयाक निर्माणका क्रममा केही कम्पनीको कमजोर कार्यसम्पादनका कारण समग्र आयोजना आलोचनामा परेको उल्लेख गरे । “अब कुनै पनि निर्माण कम्पनीलाई थप समय र सुविधा दिएर आयोजना लम्ब्याउने पक्षमा सरकार छैन,” उनले भने ।
उनका अुनसार, प्याकेज नम्बर ९ ए, ९बी, ८बी लगायतका केही प्याकेजमा निर्माण व्यवसायीको कार्यसम्पादन सन्तोषजनक छैन । “पटक–पटक चेतावनी, ताकेता, स्थलगत अनुगमन तथा पत्राचार गर्दा पनि निर्माण कम्पनीहरूले आफ्नै प्रतिबद्धताअनुसार काम गर्न सकेका छैनन्,” मन्त्री लम्सालको भनाइ छ ।
काठमाडौंस्थित आयोजनाको प्रारम्भिक विन्दुमा रहेका केही समस्या पनि छिट्टै समाधान गरिने बताए । ती समस्या समाधान भएपछि रद्द गरिने ठेक्कासँगै बाँकी कामका लागि पुनः टेन्डर आह्वान गरिने उनको भनाइ छ ।














