चालु आर्थिक वर्ष २०८३/८४ को तीन महिनामा रेमिट्यान्स (विप्रेषण आप्रवाह) सात खर्ब तीन अर्ब ७० करोड भित्रिएको छ ।
यो गत आवको तुलनामा २७.२ प्रतिशतको वृद्धि हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को २०८३ असोजसम्मको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस्तो देखाएको हो ।
असोजको एकै महिनामा मात्रै विप्रेषण आप्रवाह दुई खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ भित्रिएको छ । जबकी, अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ भित्रिएको थियो ।
असोजसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.७ प्रतिशतले वृद्धि भई चार अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २९.२ प्रतिशतले बढेको थियो ।
सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख २१ हजार ८७९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ८२ हजार ३६९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संखया क्रमशः एक लाख २३ हजार ४५९ र ७७ हजार २५७ रहेको थियो ।
यस्तै, तीन महिना अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) सात खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब १० अर्ब ६१ करोड रहेको थियो ।
















