नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन् । निर्वाचन आयोगले आयोजना गरेको राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँगको छलफलमा आफ्नो धारणा राख्दै उनले मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्ने बताए ।
संयोजक प्रचण्डले विगतका निर्वाचनमा मतगणना, मतपरिणाम र मतपेटिका व्यवस्थापनलगायत विषयमा विभिन्न प्रश्न तथा गुनासा उठ्ने गरेको उल्लेख गर्दै आगामी निर्वाचनमा त्यस्ता समस्या दोहोरिन नदिन निर्वाचन आयोगले विशेष ध्यान जानुपर्ने बताए ।
उनले विगतका निर्वाचनमा कतिपय उमेदवारले आफ्नो मत हराएको, आफूले अपेक्षा गरेभन्दा फरक मतपरिणाम आएको तथा उमेदवारका प्रतिनिधिलाई मतपेटिका ओसारपसारका क्रममा सहभागी हुन नदिएको जस्ता गुनासा गरेको स्मरण गराए ।
आगामी निर्वाचनमा यस्ता प्रश्न उठ्ने अवस्था आउन नदिन निर्वाचन प्रक्रिया थप पारदर्शी र विश्वसनीय बनाउनुपर्ने उनको भनाइ थियो ।
प्रचण्डले गएको निर्वाचन सामान्य परिस्थितिमा सम्पन्न नभएको उल्लेख गर्दै लोकतन्त्रको निरन्तरता र संविधान कार्यान्वयनलाई गति दिन विभिन्न राजनीतिक दल तथा नेताहरूले विशेष भूमिका खेलेको बताए ।
निर्वाचनमा प्राप्त मत र जित–हार मात्र नभई लोकतन्त्रको निरन्तरता तथा संस्थागत विकासका लागि राजनीतिक दल र नेताहरूले निर्वाह गरेको भूमिकाको पनि मूल्यांकन हुनुपर्ने उनको धारणा थियो ।
निर्वाचनको समयतालिकाबारे बोल्दै प्रचण्डले संविधान र कानुनको व्यवस्थाभित्र रहेर निर्वाचन गर्नु उपयुक्त हुने बताए । स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्ने गरी निर्वाचन आयोगले प्रस्तुत गरेको समयतालिका उपयुक्त देखिएको बताए । उनले यस विषयमा पार्टीभित्र थप छलफल र अध्ययन गरेर अन्तिम धारणा बनाउने बताए ।
विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्नुपर्ने विषयलाई उनले विशेष प्राथमिकताका साथ उठाए । शान्ति सम्झौतापछि पहिलो संविधानसभाको निर्वाचनको समयदेखि नै आफूले विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्नुपर्ने धारणा राख्दै आएको उनले बताए ।
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न प्राविधिक र कानुनी दुवै पक्षमा गम्भीर अध्ययन आवश्यक रहेको प्रचण्डको भनाइ थियो । यसका लागि नेपालीहरूको ठूलो संख्या रहेका देशका सरकारसँग नेपाल सरकारले द्विपक्षीय वार्ता र संवाद गर्नुपर्ने तथा निर्वाचन आयोगले पनि आवश्यक सहजीकरण गर्नुपर्ने उनको भनाइ थियो ।
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सके मात्रै निर्वाचनको विश्वसनीयता र नेपाली जनताको वास्तविक निर्णय गर्ने अधिकार थप सुदृढ हुने उनको धारणा थियो ।
निर्वाचन दुई चरणमा गर्ने विषयमा भइरहेको छलफलका सम्बन्धमा भने उनले आयोगको प्रस्तुति र सुझावलाई अध्ययन गरी पार्टीभित्र छलफल गरेपछि थप निर्णय लिने बताए ।
















