धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सात दशमलव ३८ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक शून्य दशमलव २८ प्रतिशतले घटेर दुई हजार ६२१ दशमलव २९ विन्दुमा कायम भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने शून्य दशमलव ०७ अंकले बढेर ४७७ दशमलव ०१ विन्दुमा पुगेको छ । त्यस्तै, फ्लोट परिसूचक शून्य दशमलव ३१ अंकले घटेर १८२ दशमलव ३७ विन्दुमा कायम हुँदा सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ०७ अंकले बढेर १६२ विन्दुमा पुगेको छ ।
आज विभिन्न कम्पनीका एक करोड छ लाख दुई हजार ४६८ कित्ता शेयर तीन अर्ब ८८ करोड ७५ लाख ६३ हजार ४७० रुपैयाँमा खरिदबिक्री भएका छन् ।
कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । आज ८९ कम्पनीको शेयर मूल्य बढ्दा १८१ कम्पनीको घटेको छ । त्यस्तै, नौ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज डोल्टी पावर, भूगोल इनर्जी कम्पनी र मनकामना इन्जिनियरिङका लगानीकर्ताले कमाएका छन् । यस्तै, मुक्तिनाथ म्युचुअल फण्ड, पाल्पा इन्डस्ट्रिज र स्वस्तिक लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।
















