धरानमा हत्या गरिएकी युवतीको सनाखत

सुनसरीको धरानमा हत्या गरेको अवस्थामा भेटिएकी युवतीको शवको सनाखत भएको छ। धरान उपमहानरपालिका-१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कुलबीचको एकान्त ठाउँमा बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा एक युवतीको शव फेला परेको थियो । उक्त शव धरान-१६ निवासी महेन्द्र श्रेष्ठकी २१ वर्षीया छोरी सुमना श्रेष्ठको भएको सुनसरी प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार युवती धरानकै एक कलेजमा कक्षा १२ मा अध्ययनरत थिइन् । उनको हत्या कसले किन गर्यो खुलेको छैन । बुधबार दिउँसो साढे २ बजेतिर गाईबाख्रा चराउनेहरूले खोल्सामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव नजिकै खुकुरी पनि भेटिएको थियो । शव पोस्टमर्टमका लागि बीपी प्रतिष्ठानमा राखिएको छ ।

प्रहरीले तालिमप्राप्त कुकुरको सहायतामा घटनाको थप अनुसन्धान अघि बढाइएको जनाएको छ।