नाडाको अध्यक्षमा करण चौधरी सर्वसम्मत, आकाश गोल्छा वरिष्ठ उपाध्यक्ष

अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आगामी अध्यक्षमा करण चौधरी बन्ने सहमति भएको छ। प्रतिस्पर्धामा आकाश गोल्छा प्रकाश कपुरी र करण चौधरी रहेकोमा चौधरीलाई सर्वसम्मत गर्ने निर्णय गरिएको नाडाले जनाएको छ। नाडाले आगामी २ वर्षे कार्यकालका लागि अध्यक्ष सर्वसम्मत गरेको हो ।

लामो प्रयासपछि मंगलबार साँझ बसेको पूर्व अध्यक्षहरूसमेतको बैठकले सहमति गराउन सफल भएको नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए । नाडामा आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्षसमेत रहने थापाले बताएका छन् । बरिष्ठ उपाध्यक्ष आकाश गोल्छालाई दिने सहमति भएको छ। यसैगरी अध्यक्षका अर्का आकांक्षी प्रकाश कपुरीलाई समेत कार्यसमितिमा नै समेट्ने गरी सहमति जुटेको थापाको भनाइ छ।

अब आगामी पुस २० र २१ गते हुने नाडाको ४७ औं वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति घोषणा हुने भएको छ । २ वर्षे नयाँ कार्यसमिति चयनपछि चौधरीले अध्यक्षको जिम्मेवारी पाउने छन । गोल्छा भने अहिले वरिष्ठ उपाध्यक्ष बस्ने र अर्को कार्यकालमा अध्यक्ष हुनेछन् । नाडाको अन्य पदाधिकारीमा समेत सहमति गराउने प्रयास भइरहेको नाडाले जनाएको छ।