बागलुङ र पर्वत जोड्ने पुलबाट खसेर २२ बर्षिय युवकको मृत्यु

बागलुङ र पर्वत जोड्ने नेपालकै अग्लो झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको पाङ जोड्ने कालीगण्डकी नदिमाथिको झोलुङ्गे पुलबाट खस्दा बागलुङ नगरपालिका–४ रातमाटाका २२ वर्षीय शेरबहादुर थापाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

बुधबार साँझ ६ बजेको समयमा पुलबाट एक्कासी कालीगण्डकी नदि किनारमा खस्दा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपक केसीले जानकारी दिएका छन ।

१ सय ४० मिटर अग्लो पुलबाट कालीगण्डकी नदिको किनारमा खस्दा थापाको मृत्यु भएको प्रहरी निरिक्षक केसीले बताए ।
मृतक थापा पुलबाट आफै हाम हालेका हुन वा कसैले धकेलेर खसाल्यो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।