घाँस काट्न गएका सासु-बुहारी जंगलमा मृत फेला

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जंगलमा घाँस काट्न गएका सासु-बुहारी मृत फेला परेका छन् ।

विनयी त्रिवेणी गाउँपालिका–१ ओमशान्ति टोलका ६० वर्षीया मनादेवी पौडेल र उनकी २८ वर्षीया बुहारी विष्णु पौडेल मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी बेदबहादुर पौडेलका अनुसार खहरे जङ्गलमा घाँस काट्न गएका सासु-बुहारी घर नफर्किएको उजुरी परेपछि जङ्गलमा खोजतलास गर्दा उनीहरुको शव भेटिएको बताए ।

उनीहरूको खोजी गर्न प्रहरीसहित ६० जनाको टोली जंगलमा गएका थिए । आइतबार राति खहरेको ढिकमा दुवैको शव भेटिएको डिएसपी पौडेलले जानकारी दिए ।

मनादेवीको शरीरको पछाडिको भागमा र विष्णुको बायाँ कम्मरमा चोट देखिएको डिएसपी पौडेलले बताए ।

पोस्टमर्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।