माधव नेपालले संसदमा गरे बालेन साहको चर्चा

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलप्रति देखिएको जनताको वितृष्णाले नै स्वतन्त्र उम्मेदवारको जित भएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्दै उनले यस्तो बताएका हुन्।

‘विभिन्न ठाउँमा स्वतन्त्र उम्मेदवार जित्नु भएको छ। आफूलाई विश्वास गरेका मानिसलाई जिताएका छन्। चाहे काठमाडौंमा बालेन हुन् वा धरानमा हर्क उहाँहरुले मेहनतले सफलता प्राप्त गर्नुभएको छ,’ उनले भने,‘ जनताको समस्यालाई ठीक हिसाबले बुझ्ने काम गरेकाले मत पाएका हुन्। राजनीतिक पार्टीहरुप्रति जनतामा रहेको आलोचनात्मक वितृष्णा जुन देखिएको छ यसमा आत्मचिन्तन गर्नुपर्छ।’

उनले भ्रष्टाचारका कारणले जनता आक्रान्त भएको भन्दै यसको विषयमा गम्भीर रुपले ध्यान दिर्नैपर्ने बताए।
‘जसले बदमासी गरेको छ त्यसलाई दण्डित गरौं। अहिलेकै प्रणाली अनुसार अघि बढ्यो भने विकास होला जस्तो लाग्दैन,’ उनले भने,‘कसरी परिवर्तन गर्नुपर्छ भनेर सोच्नुपर्दछ। दीर्घकालीन सोच र अल्पकालीन सोच राख्नुपर्यो।’