निजगढ विमानस्थल रोक्नु पर्ने कुनै कारण छैन, मनसाय गलत छ : माधव नेपाल

पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्माणाधिन निजगढ विमानस्थलको निर्माण कार्य रोक्नुको पछाडी गलत मनसाय रहेको हुनसक्ने बताएका छन् । साथै उनले उक्त आदेशमा गलत पक्षले काम गरेको हुनसक्ने भन्दै शंका व्यक्त गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभामा जारी बजेटको नीति तथा कार्यक्रको छलफलमा बोल्दै नेता नेपालले निजगढ विमानस्थल रोक्नुपर्नेको कुनै कारण नभएको बताए । तर, कुनै तत्व वा प्रवृत्ति लागेर रोक्ने काम गरेको हुन सक्ने उनले बताए ।

‘निजगढ विमानस्थल क्षेत्रमा पहिले घना जंगल थियो तर अहिले छैन । खुल्ला ठाउँमा विमानस्थल बनाउन लाग्दा पनि किन रोकियो ?’ प्रश्न गर्दै नेपालले भने, ‘राष्ट्रिय गौरवको आयोजनाको रुपमा सरकारले अघि बढाएको परियोजनामा किन रोक्ने काम गरियो ? यसमा पक्कै कुनै तत्वले काम गरेको छ । यसमा सरकारले सुश्म अध्ययन गर्न आवश्यक छ ।’

बिहीबार मात्र सर्वोच्च अदालतले सरकारको नाममा परमादेश जारी गर्दै निजगढ विमानस्थलको निर्माण सम्बन्धि सम्पूर्ण प्रक्रिया तत्काल रोक्न आदेश जारी गरेको छ ।