काठमाडौँ। मुलुकको एक मात्र मानसिक अस्पताल पाटनस्थित मानसिक अस्पताल स्तरोन्नति गरिने भएको छ । २०७२ सालको भूकम्प र कोरोना महामारीले मानसिक अस्पतालप्रति चासो बढेपछि स्तरोन्नतिको गरिने भएको हो ।
भूकम्प र कोरोनामा मानिसमा मानसिक रोग, आत्महत्याजस्ता घटना बढ्न थालेपछि सरकारले यस अस्पतालप्रति चासो दिन थालेको हो । यसअघि सरकारले विसं २०५१ मा राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना ल्याए पनि अस्पतालको सुधार गर्न सकेको थिए । अहिले फेरि सरकारले अस्पतालको स्तरोन्नति गर्न राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना–२०७७ समेत ल्याएको छ ।
अहिले ५० शय्या रहेको अस्पताललाई १५० शय्या पु¥याउने अस्पतालको तयारी रहेको छ । यसका लागि अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्य मन्त्रालयसँग रकम विनियोजनका लागि आग्रह गरिसकेको छ । अस्पतालका निर्देशक डा अनन्तराज अधिकारीले आगामी वर्ष वहुवर्षीय योजनाअन्तर्गत अस्पतालको स्तरोन्नति गरिने जानकारी दिए ।
स्तरोन्नतिका लागि सहरी विकास तथा भवन निर्माण विभागले दुई अत्याधुनिक भवन निर्माण गर्न नक्शासमेत तयार पारिसकेको छ । “भूकम्प र कोरोना महामारीले मानिसमा मनोरोग, चिन्ताजस्ता समस्या देखिए” उनले भने, “त्यसपछि यस अस्पतालमा उपचार गराउन आउने बिरामी पनि बढ्न थालेपछि सरकारले पनि चासो दिन थाल्यो ।”
उनले स्तरोन्नति गरेपछि विधागत बहिरङ्ग सेवा सञ्चालन गर्ने तयारी रहेको बताए । उनका अनुसार अस्पतालमा बालमनोरोग सेवा, मानसिक रोग, लागुपदार्थ दुव्र्यसनी उपचार, यौनरोग, मनोवैज्ञानिक उपचार, विद्युतीय उपचार पद्दति, चुम्बकीय उपचार पद्दतिबाट उपचार भइरहेको छ । चुम्बकीय उपचार पद्दतिमा अहिले अस्पतालमा चार जनाको नियमित उपचार भइरहेको छ ।
भवन विभागले एक पाँचतले र अर्को चारतले भवन बनाउन थालेको हो । पाँचतले प्रशासन भवनमा कक्षा, कर्मचारी, कर्मचारीको आवास र फार्मेसी सञ्चालन हुने छ । यस्तै चारतले भवनमा बहिरङ्ग सेवा, आकस्मिक सेवा, शय्या र प्रयोगशाला कक्ष रहने छन् ।
बिरामीको चापअनुसार अस्पतालमा कम सङ्ख्यामा चिकित्सक रहेका छन् । अहिले नौ मनोचिकित्सक र ६ जना इन्र्टनसीप चिकित्सक रहेका छन् । निर्देशक डा अधिकारीका अनुसार मनोविद् चिकित्सकको दरबन्दी नरहेकोले अस्पताल विकास समितिले एक चिकित्सकलाई करारमा राखेको छ । उनले सवै सुविधा भए पनि कहिलेकाहीँ शय्या अभावले बिरामीलाई अयन्त्र पठाउनुपर्ने बाध्यता रहेको बताए ।
उनले अर्को वर्ष बालमानसिक स्वास्थ्य उपचार सुरु गर्ने बताउए । कोरोना महामारीको बेला करिब ३५ हजार मानिस अस्पतालमा उपचारार्थ आएका थिए ।
नेपालमा मानसिक स्वास्थ्य सेवा २०१८ सालमा वीर अस्पतालको बहिरङ्ग सेवाबाट सुरु भएको हो । यो सेवा सैनिक अस्पताल, वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै देशका ठूलाठूला अस्पतालमा विस्तार भएको छ । सरकारले इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखामा मानसिक स्वास्थ्य गठन गर्नुकासाथै प्रत्येक २०० शय्याका अस्पतालमा १० शय्या मानसिक रोगीका लागि छुटाउन निर्देशन दिएको छ । अहिले प्रत्येक २०० भन्दा बढी श्यया भएका अस्पतालमा मानसिक रोग विभाग रहेको छ ।












