अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउनेबारे माओवादीमा छलफल सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रमा अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउनेबारे छलफल भएको छ ।पार्टीका शीर्ष नेताहरुका बीचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर छलफल सुरु भएको एक नेताले जनाकारी दिए ।

पार्टीभित्र अर्थमन्त्रीको विकल्प खोज्नुपर्ने कुरा उठेलगत्तै अध्यक्ष प्रचण्डले आइतबार नै शर्मालाई उनकै निवास खुमलटार बोलाएर छलफल गरेका थिए । उनीहरुबीच दिउँसो ४ बजेदेखि साढे ५ बजेसम्म छलफल भएको थियो । छलफलमा प्रचण्डले राजीनामा दिन शर्मालाई सुझाव दिएका थिए ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले अर्थमन्त्री शर्मा आइतबार दिउँसो चार बजे आएर करिब दुई घण्टा प्रचण्ड निवासमा बसेर गएको पुष्टि गरे । तर छलफलबारे भने आफूलाई कुनै जानकारी नभएको बताए ।