काठमाडौं । आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले लोक सेवा आयोगको ६२औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
त्यस्तै प्रधानमन्त्री देउवाले नै राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ र लोक सेवा आयोग विधेयक २०७५ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।
यसैगरी बिहान ११ बजे बस्ने राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूचीअनुसार आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिनेछन् ।
कानून, खेलकुद, श्रम, शिक्षा, पर्यटन, सहरी विकासलगायतका १० मन्त्रालयमाथि उठेका सवालको जवाफ सम्बन्धित मन्त्रीले दिने संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाबाट पारित भइसकेको बजेट राष्ट्रियसभामा छलफलकै क्रममा छ ।















