काठमाडौं । कोरोना संक्रमणको जोखिम कम हुँदै गएपछि साउदी अरेबियाले स्वास्थ्य सम्बन्धी मापदण्ड खुकुलो बनाएको छ ।शनिबारदेखि लागु हुनेगरि साउदी प्रवेश गर्नेहरुले पीसीआर रिपोर्ट देखाउनुपर्ने र संस्थागत तथा होटल क्वरेण्टिनमा बस्नुपर्ने नियम खारेज गरेको हो ।
अब साउदी प्रवेश गर्ने यात्रुले विमानस्थलमा नेगेटिभ पीसीआर रिपोर्ट देखाउन नपर्ने त्यहाँको गृह मन्त्रालयको भनाइलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । यस्तै अब कुनै पनि प्रकारको क्वरेटिनमा बस्नुपर्ने छैन । यात्रु विमानस्थलमा उत्रेर सिधै आफ्नो गन्तव्यमा जान सक्नेछन् ।
यस्तै साउदीले अफगानिस्तान लगायत १५ वटा अफ्रिकी देशमाथि लगाएको सिधा उडानमाथिको प्रतिबन्ध पनि हटाएको गल्फ न्युजले जनाएको छ । साथै मक्का र मदिनामा लागू गरिएको भौतिक दुरीको मापदण्ड पनि हटाइएको छ । तर मास्क लगाउन भने यी ठाउँमा अनिवार्य नै छ ।