नक्कली मतपत्र र स्वस्तिक छापसहित दुईजना पक्राउ परेका छन् । वीरगञ्जमा बिहीबार राति तपत्र र स्वस्तिक छापसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका वडा नंं १६ का २३ वर्षीय अमिरी राउत कुर्मी रहेका छन् ।
बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारमा कलैयाबाट वीरगञ्ज आउँदै गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । कलैयातर्फबाट आइरहेको कारलाई वीरगञ्ज बसपार्क इलाकामा चेकजाँच गरिएको थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले कारमा चेकजाँच गर्ने क्रममा नक्कली मतपत्र र नगद बरामद गरेको थियो । करिब ३ सय जति नक्कली मतपत्रमा साइकल चिन्हमा मत संकेत गरेको पाइएको छ ।
चेकजाँच गर्ने क्रममा कारमा १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप, ४८ थान स्ट्याम्प प्याड र नगद २ लाख ७२ हजार बरामद भएको थियो ।















