नेपाल क्रिकेट संघ (क्यान)ले पूर्व कप्तान पारस खड्काको सम्मानमा राष्ट्रिय क्रिकेट टिमको ७७ नम्बरको जर्सी तत्काल प्रयोग नगर्ने भएको छ ।
७७ पूर्व कप्तान पारस खड्काले प्रयोग गर्दै आएको जर्सी नम्बर हो । उनको सम्मानमा यो जर्सी तत्काल प्रयोग नगर्ने निर्णय गरेको सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।
सन् २००८ देखि ५० ओभरको खेलमा नेपालले कलर पोसाक लगाउँदै आएको थियो । त्यसयता पारसले ७७ नम्बरको जर्सी लगाउँदै आएका थिए । कात्तिक ७ गते जन्मिएकाले पारसले ७ महिना ७ गतेको आधारमा ७७ नम्बरको जर्सी प्रयोग गर्दै आएका थिए ।
१७ वर्ष नेपाली राष्ट्रिय टोलीबाट खेलेका पूर्व कप्तान पारसले गत मंगलबार ३३ वर्षको उमेरमा संन्यासको घोषणा गरेका थिए । पारस सन् २००४ मा मलेसियाविरुद्ध अन्तरमहादेशीय कप तीन दिवसीय प्रतियोगिताबाट नेपाली राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका थिए ।
उनकै कप्तानीमा नेपालले ट्वान्टी–२० विश्वकप खेल्नुका साथै एक दिवसीय मान्यता पाएको थियो । उनी नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय, एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।














