रौतहटको चन्द्रपुरमा बोलबमको तीर्थालु बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । रौतहटको चन्द्रपुर– १ स्थित नुनथर नहरमा ना ५ च ३१६६ नम्बरको बोलेरो पिकअप सोमबार बिहान अनियन्त्रित भई दुर्घटना भएको हो ।
बाराको काजघाँटमा रहेको महादेव मन्दिरमा जल चढाउन नुनथरस्थित बाग्मती नदिबाट जल बोक्न आएको गाडी सडकभन्दा ५० मिटर तल नहरमा खसेको हो । दुर्घटनामा परेका १८ जनाको प्रहरीले उद्धार गरेको थियो । जसमध्ये पाँच जना घाइते भएका छन् । घाइते भएका पाँच जनाको चन्द्रनिगाहपुर हस्पिटलमा उपचार भैरहेको प्रहरीले जनाएको छ। गाडीमा करिब २० जना सवार रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा बारा गढीमाईकी ४५ वर्षीया मिना देवी कोइरी रहेकी छिन् भने बारा जिल्ला बोधीवन नगरपालिकाकी ६५ वर्षीया सुनरी देवी मुखिया बेपत्ता भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।














