लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलको राजीनामासँगै नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले नयाँ सरकार गठनको तयारी गरेको छ । जसमा मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने निर्णय भएको छ । मुख्यमन्त्रीमा माओवादी केन्द्र र काँग्रेसले आलोपालो गर्ने, जनता समाजवादीलाई सरकारमा सहभागी बनाउने र राष्ट्रिय जनमोर्चा सरकार बाहिरै बसेर सहयोग गर्ने निर्णय भएको छ ।
सुरुवातमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने र त्यसपछि काँग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियालाई मुख्यमन्त्री बनाउने तयारी छ । फागुन ३ गते प्रदेशसभा दिवस र जनयुद्ध दिवस मनाएपछि केसीले मुख्यमन्त्रीबाट राजीनामा दिने सहमति भएको र गठबन्धनमा सबै दललाई अपनत्व महसुस गराउन मुख्यमन्त्रीमा आलोपालो नेतृत्वको निर्णय भएको काँग्रेस संसदीय दलका नेता कानोडियाले बताए । प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गरेलगत्तै संविधानको धारा १६८ को उपधारा २ बमोजिम केसीको नेतृत्वमा सरकार गठनका लागि जाने गठबन्धनको तयारी छ । । केसीको नेतृत्वमा बन्ने सरकारमा तत्काल प्रत्येक दलबाट एक–एक जना मन्त्री हुने र विश्वासको मत लिएपछि विस्तार गर्ने सहमति भएको नेता कानोडियाले बताए ।














