लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए ।
२४ घण्टाको लागि भन्दै बुधबार प्रदेश प्रमुख शेरचनले आह्वान गरेको मुख्यमन्त्रीको दाबी पेश गर्ने समयभित्र केसीले मात्र दाबी गरेपछि उनी मुख्यमन्त्री बनेका हुन् ।
संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा माग दाबी गरेका केसीलाई माओवादी केन्द्र, नेपाली कांग्रेस, जनमोर्चा, जनता समाजवादीको समर्थन छ । गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
गठबन्धनले मुख्यमन्त्रीको सपथपछि आज नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको छ ।















