काठमाडौँ महानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरुलाई कक्षा १० सम्मका कक्षाहरुमा अनिवार्यरुपमा कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको छ ।
महानगरपालिकाको शिक्षा विभागले आज (बिहीबार) सूचना जारी गर्दै महानगरपालिका क्षेत्रमा सञ्चालित सबै संस्थागत विद्यालय (निजी स्कुल)ले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने जनाएको छ ।
यो व्यवस्था कार्यान्वयन गराउन पटकपटक अनुरोध गर्दा जेठ २३ गतेसम्ममा महानगर क्षेत्रका ४७३ संस्थागत विद्यालयले छात्रवृत्तिको विवरण उपलब्ध गराएका महानगरपालिकाले जनाएको छ । त्यसरी विवरण उपलब्ध गराउने विद्यालयहरुको विवरण पनि महानगरले सार्वजनिक गरेको छ ।
‘छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयहरुले काठमाडौँ महानगरपालिका शिक्षा विभागमा तीन दिनभित्र माग भएको छात्रवृत्ति विवरण उपलब्ध गराउनु पर्नेछ,’ महानगरले जारी गरेको सूचनामा भनिएको छ, ‘अन्यथा त्यस्ता विद्यालयहरुलाई शैक्षिक सत्र २०८१ मा सञ्चालनमा नरही बन्द विद्यालयको रुपमा अभिलेखीकरण गरी त्यस्ता विद्यालयहरुमा विद्यार्थी भर्ना नगर्नरनगराउन र गराएको भए अन्यत्र स्थानान्तरण गर्नसमेत अभिभावकलाई सूचित गरिने छ ।’
महानगरले रीतपूर्वक १० प्रतिशत छात्रवृत्ति उपलब्ध नगराउने निजी विद्यालयहरुलाई प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुने चेतावनीसमेत दिएको छ ।












