डेंगी संक्रमण बढेपछि पर्वत अस्पतालमा शय्या अभाव

Image

पर्वतमा डेंगी संक्रमितको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव हुन थालेको छ । पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा डेंगी सङ्क्रमण पुष्टि भएको हो ।

पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा।हेमन्त बाँस्तोलाका अनुसार डेङ्गीबाट पर्वतमा एक महिलाको मृत्यु भइसकेको छ ।

अस्पताल सङ्क्रमितले भरिभराउ छ । साठी शय्याको अस्पतालमा बिरामी भरिभारउ भएपछि अतिरिक्त शय्या खडा गरेर उपचार गरिएको छ ।

ग्रामीण क्षेत्रमा भन्दा बजारमा बिरामीको सङ्ख्या अधिक छ । सदरमुकाम कुश्मामा मात्र पाँच सयभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ४९ प्रतिशत पुरुष र ५१ प्रतिशत महिला छन् ।

नौवटा एम्बुलेन्स थन्किए
यसैबीच, बिरामीलाई सर्वसुलभ रूपमा आकस्मिक सेवा उपलव्ध गराउने उद्देश्यले जिल्लाका विभिन्न पालिकामा ल्याइएका नौवटा एम्बुलेन्स प्रयोगविहीन अवस्थामा पुगेका छन् ।

हाल पर्वत जिल्लाभर १० वटा एम्बुलेन्स मात्र सञ्चालनमा छन् । विभिन्न दातृ निकाय, भारतीय राजदूतावास र सरकारी सुविधामा ल्याइएका एम्बुलेन्स नियमित मर्मतसम्भार नहुँदा थन्किएका हुन् ।