दिल्लीमा पक्राउ परेका देवकुमार नेपालीलाई काठमाडौं ल्याइयो

भारतको दिल्लीमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ ।

बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका ५१ वर्षीय नेपालीलाई शनिबार काठमाडौं ल्याइएको हो । उनीसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि काठमाडौं ल्याइएको छ ।

उनीहरु दुवै जना सहकारी ठगीको कसुरमा फरार थिए । नेपालीविरुद्ध २४ जेठ २०८० मा पक्राउ पुर्जी जारी भएको थियो भने १० माघ २०८० मा रेड नोटिस जारी भएको थियो ।

पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाइने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए ।