पाठक उपरथीमा बढुवा, श्रेष्ठ र कार्की बने सहायक रथी

नेपाली सेनाको उपरथीमा सहायक रथी हरेन्द्र पाठकलाई बढुवा गरिएको छ। असोज १८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बढुवा भएका पाठकलाई सोमबार सैनिक मुख्यालय भद्रकालीमा प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

पदोन्नतिपछि उपरथी पाठक नेपाली सैनिक वार कलेजको शिक्षाधिकृतमा नियुक्त भएका छन्। यस्तै दुई जना महासेनानी सहायक रथीमा र ५ जना प्रमुख सेनानी महासेनानीमा बढुवा भएका छन्। महासेनानी मनिकुमार श्रेष्ठ र विष्णुबहादुर कार्कीलाई सहायक रथीमा बढुवा गरिएको हो।

यस्तै प्राविधिक प्रमुख सेनानी डा। निरव कायस्थ, प्रमुख सेनानी प्रशान्त बज्राचार्य, रित बहादुर रानाभाट, सरोज राना र सुशील महतलाई महासेनानीमा बढुवा गरिएको छ।

उनीहरूलाई पनि सोमबार नै दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।