आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा दुई अर्ब ३१ करोड ९९ लाख राजस्व संकलन गरेको छ । कार्यालयका कर अधिकृत सौजन बस्यालका अनुसार आर्थिक वर्ष २०८२-८३ मा कार्यालयले आय करतर्फ एक अर्ब राजस्व संकलन गरेको छ । त्यसैगरी भ्याटतर्फ ५१ करोड ५८ लाख र अन्तःशुल्कतर्फ ८० करोड १५ लाख राजस्व संकलन गरेको छ ।
कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यको ७७ प्रतिशत राजस्व संकलन गरेको छ । ‘आयकर लक्ष्यभन्दा बढी संकलन भएको छ ।’ कर अधिकृत बस्यालले भने, ‘गत आवमा फ्याक्ट्रीहरूलाई निकासी कम मात्रामा गरेकाले अन्तःशुल्क लक्ष्यअनुसार संकलन हुन सकेन ।’
कार्यालयले आर्थिक वर्ष २०८१-८२ दुई अर्ब ४१ करोड ७९ लाख ५८ हजार राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षमा कार्यालयले दुई अर्ब ८७ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको उनले बताए।
कर अधिकृत वस्यालका अनुसार गत आर्थिक वर्षमा एक हजार ४०० व्यावसायिक फर्म करको दायरमा आएका छन् भने नौ हजार ९६५ जनाले व्यक्तिगत प्यान लिए । पछिल्लो समय सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत उपहार योजना ल्याएको छ ।
उक्त उपहार योजनामा पहिलो विजेता कञ्चनपुरकै करदाताले रु १० लाख प्राप्त गरे। ‘हामी अनुगमनमा जाँदा बिल लिनेको सङ्ख्या बढेको पाएका छौँ’, उनले भने, ‘पहिलो उपहार विजेता यहीँको भएर पनि अहिले यो सङ्ख्या बढेको पाइएको छ ।’
कार्यालयले करदातालाई करदाता शिक्षासमेत प्रदान गर्दै आएको छ । गत आवमा जिल्लाका विभिन्न स्थानमा २३ वटा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको अधिकृत बस्यालले बताए ।













