देशभर १७ हजार भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै आठ जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडिसिडी० को तथ्याङ्क अनुसार जुम्लामा बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।
ईडिसिडीको तथ्याङ्कअनुसार ७६ जिल्लामा १७ हजार ६०२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ईडिसिडीको कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले कास्की, काठमाडौंँ, तनहुँमा सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको छ । दाहालका अनुसार कास्कीमा दुई हजार ७०९, काठमाडौँमा दुई हजार ५६७, तनहुँमा एक हजार ९५४, पर्वतमा एक हजार ४२१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी, चितवनमा ९०७, गोरखामा ६२०, ललितपुरमा ६४६, बागलुङमा ५८९, भक्तपुरमा ३०८, स्याङ्जामा २९६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको दाहालले जानकारी दिए ।
प्रदेश अन्तर्गत गण्डकी, बागमती,लुम्बिनी र कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा आठ हजार ६२, बागमती प्रदेशमा पाँच हजार ५७१, कोशी प्रदेशमा एक हजार ४२२ जनामा डेंगु पुष्टि भएको छ । यसैगरी, लुम्बिनी प्रदेशमा एक हजार १३५, कर्णाली प्रदेशमा २५१, मधेश प्रदेशमा ३४३ र सुदूरपश्चिम प्रदेशमा ८१८ जनामा डेंगु पुष्टि भएको छ ।
डेंगु कस्तो रोग हो
डेंगु रोग डेंगी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । उनले भने, “डेंगु दिनमा सक्रिय हुने कालो सेतो छिरबिरे रङको देखिने लामखुट्टेको टोकाइबाट हुने गर्छ।” एडिस जातको लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्छन् । सङ्क्रमण भएको चारदेखि १० दिनसम्म सामान्यतया डेंगुका लक्षण देखिन्छ ।
उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी र मांसपेशीहरू दुख्ने, शरीरमा राता बिमिरा आउने, आँखाको गेडी दुख्ने वाकवाकी लाग्ने डेंगुका प्रमुख लक्षण हुन् । डेंगुले दोस्रो पटक तर फरक सेरोटाइपले पुनः सङ्क्रमित गराए विगतको भन्दा थप घातक लक्षण देखिने डा. पुन बताउँछन् । डेंगुबाट बच्ने एक मात्र उपाय लामखुट्टेको टोकाइबाट बच्ने हो ।
डेंगु सङ्क्रमण भएपछि चिकित्सकको सल्लाहबिना कुनै पनि औषधीको सेवन नगर्न डा. पुनको सुझाव छ । बिरामीलाई असाध्यै जोर्नीमा दुःखाइ भएमा, तारन्तार वान्ता भएमा, आलस्य धेरै भएमा गम्भीर स्वास्थ्य समस्या निम्तिने हुँदा तुरुन्तै अस्पतालमा जान डा. पुनको सुझाव छ ।
घरमा बसेर उपचार गर्दा चिकित्सकको सल्लाह बमोजिम जिउ दुख्न कम गर्नको लागि प्यारासिटामोल खान डा. पुनको सुझाव छ । बिरामीले झोलिलो खानेकुरा प्रशस्त खान उनको आग्रह छ । लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन, सुत्दा झुलको प्रयोग गर्न चिकित्सकको सुझाव छ ।














