इंग्लिस प्रिमियर लिगमा स्वाभाविक लयतर्फ उन्मुख म्यानचेस्टर युनाइटेडले चौथो जित निकालेको छ । युनाइटेडले आइतबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा लेस्टर सिटीलाई ३–० ले हराएको हो ।
युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेज र एलेसान्ड्रो गार्नाचोले गोल गरे । युनाइटेडले अर्को एक गोल भने आत्मघाती उपहार पाएको थियो ।
खेलको १७औँ मिनेटमा फर्नान्डेजको गोलमा युनाइटेडले अग्रता बनाएको थियो । ३८औँ मिनेटमा भिक्टर क्रिस्टिन्सनबाट भएको आत्मघाती गोलबाट युनाइटेडले अग्रता दोब्बर बनायो । खेलको निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा गार्नाचोले गोल गरेपछि युनाइटेडले सहज जित पक्का गरेको हो ।
जितसँगै ११ खेलबाट १५ अंक जोडेको युनाइटेड तालिकाको १३औँ स्थानमा छ । त्यो शीर्ष स्थानको लिभरपुलभन्दा १८ अंकले पछि हो । समान खेलबाट २८ अंकसहित लिभरपुल शीर्ष स्थानमा आसीन छ । १५औँ स्थानको लेस्टरको ११ खेलबाट १० अंक छ ।