दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा कोसी प्रदेशले लुम्बिनी प्रदेशलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।
कर्णाली प्रादेशिक रंगशालामा शुक्रबार भएको पहिलो खेलमा कोसीले सुरुआतदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै लुम्बिनीमाथि प्रभावशाली जित निकालेको हो ।
खेलको १२औँ मिनेटमा मिलन राईले गोल गर्दै कोसीलाई अग्रता दिलाएका थिए । राईले नै ३२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । ६४औँ मिनेटमा सौरभ लिम्बूले गोल गर्दै कोसीको अग्रता ३–० मा पुर्याए । अमित सन सतारले पनि गोल गर्दै कोसीको जितलाई ४–१ बनाए ।
लुम्बिनीका लागि फागुराम चौधरीले खेलको ५९ औँ मिनेटमा एक गोल फर्काएका थिए । कोसीका प्रकाश भुजेलले ५८ औँ मिनेटमा रातो कार्ड पाएपछि टोली बाँकी समय १० खेलाडीमा सीमित भएको थियो ।
शुक्रबारको दोस्रो खेलमा दिउँसो २:३० बजे त्रिभुवन आर्मी क्लब र वाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ ।















