कैलालीमा बाख्रा चोरीको विषयमा झगडा हुँदा कुटपिटबाट एक जनाको हत्या भएको छ । गौरीगंगा नगरपालिका–११ कान्तिपुरका ३० वर्षीय सुरेश भुलमाथि चोरीको विषयमा शनिबार कुटपिट भएको थियो ।
उनको उपचारको क्रममा सोमबार बिहान धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए ।
उनले कुटपिटमा संलग्न एक महिलासहित पाँच जनालाई पक्राउ गरेको बताए । पक्राउ पर्नेमा कान्तिपुर बस्ने ३० वर्षीय धर्म विक, २३ वर्षीय विशाल विक, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल र ३४ वर्षीया रमा रावल रहेका छन् ।
भुलको मृत्यु भएपछि उनीहरुलाई सोमबार बिहान इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले पक्राउ गरेको हो । उनीहरुमाथि इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरी मुद्दा चलाउने प्रहरीले जनाएको छ ।