वैदेशिक रोजगारमा अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्सा पर्टेवा सुगौली गाउँपालिका–२ रंगपुर टाडी घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१० बालुवाखानी बस्ने ३४ वर्षीय सुदीपचन्द्र बख्रेल र ललितपुर महानगरपालिका–२ सानेपा बस्ने ३३ वर्षीय सुरज खनाल र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई काठमाडौँ महानगरपालिका–३ पानीपोखरी बस्ने ३१ वर्षीय गणेश गुरूङ छन् ।
उनीहरूले अस्ट्रेलिया पठाइदिन्छु भन्दै पीडितहरूबाट नगद १६ लाख रूपैयाँ लिई सम्पकविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले बख्रेल र खनाललाई काठमाडौं महानगरपालिका–१ नक्साल गैह्रीधाराबाट पक्राउ गरेको हो भने गुरूङलाई पानीपोखरीबाट पक्राउ गरेको हो ।
साथै पक्राउ परेका बख्रेल र खनाल बैंकिङ कसूर एवम् अपराधिक लाभ मुद्दामा समेत संलग्न रहेको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको छ ।
यस्तै गुरुङलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।













