आफूलाई अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट बताएर रकम असुली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११ स्थायी घर भइ ललितपुर बस्दै आएका ३२ वर्षीय एमबीबीएस डाक्टर आशिष दाहाल छन् । प्रहरीका अनुसार, सुरुमा उनले अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट बताएर ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिहरूलाई मेसेज गर्थे ।
मेसेजमा उनले भारतको बिहारसहित अन्य ठाँउबाट ‘कन्ट्रयाक्ट किल्लर’ भाडामा लगाएर ज्यान मार्ने बताउँथे । उनले पीडितहरूसँग ५० हजारदेखि दुई लाख रुपैयाँसम्म रकम माग्ने गरेको प्रहरी बताउँछ । प्रहरीले उनलाई काठमाडौंको शंखमूलबाट पक्राउ गरेको हो ।
थप कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।













