कालिकोटको तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका उम्मेदवार निर्वाचित

कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्कराज शाही निर्वाचित भएका छन् । उनी १४३ मत ल्याएर वडाध्यक्षमा विजयी भएको कालिकोटका निमित्त जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले जानकारी दिए ।

यहाँ एकीकृत समाजवादीको साथ पाएको माओवादीका नैशोभा शाहीले ११५, एमालेबाट ऐनबहादुर शाहीले ७८, कांग्रेसबाट पैलन बहादुर शाहीले ४९ मत पाएका छन् । यस्तै राप्रपा १५, स्वतन्त्रले ५ र ४ मत बदर रहेका छन् । यहाँ ४११ मत खसेको थियो ।

०७९ को चुनावमा यहाँ माओवादी केन्द्रले वडाध्यक्ष जितेको थियो । माओवादीका परबहादुर शाहीले २३४ मत ल्याएर वडाध्यक्ष जित्दा नेमकिपाका दिपबहादुर शाही १६१ मत सहित निकटतम प्रतिद्वन्द्वी बनेका थिए । अर्थात् यहाँ नेमकिपा पहिले पनि बलियो प्रतिस्पर्धी शक्ति थियो, र यसपटक वडाध्यक्ष जित्यो ।