उपनिर्वाचन जितेका वडाध्यक्ष सपथ नलिँदै बलात्कार र हत्या आरोपमा पक्राउ

Image

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साह पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ परे का छन् ।

एक स्थानीय युवतीको बलात्कारपछि हत्या र अर्का एक व्यक्तिको अपहरणपछि हत्या गरेको अभियोगमा ३८ वर्षीय शाह पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीबार वडाध्यक्षको शपथ लिइरहेका बेला साहलाई नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले मधुवनी टोलबाट पक्राउ गरेर उनीमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक मनीष श्रेष्ठले जानकारी दिए ।

वडाध्यक्ष साहसहितका व्यक्तिले डाक्नेश्वरी नगरपालिका १ माधोपुरमा २०७८ चैत २२ गते एक महिलालाई सामूहिक बलात्कारपछि हत्या गरेको आरोप छ । सुरुमा प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि पीडितले हुलाकमार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए ।

साहसहितका ओरोपीविरुद्ध जबरजस्तीकरणी र कर्तव्य ज्यान शीर्षकमा २०७९ साउन १७ गते हुलाकबाट उजुरी प्राप्त भएपछि अनुसन्धान गरिरहेको प्रहरीको दाबी छ ।

यस्तै २०८० जेठ १० गते जिल्ला सरकारी वकील कार्यालय सप्तरीबाट इलाका प्रहरी कार्यालय कल्याणपुरमा व्यक्ति वेपत्ता रहेको सम्बन्धमा अपहरण तथा शरीरबन्धक र कर्तव्य ज्यान मुद्दामा पनि जाहेरी दरखास्त पठाइएको थियो । उच्च अदालत जनकपुरको राजविराज इजलासबाट २०८० चैत ४ गते अनुसन्धानका लागि परमादेश जारी भएको थियो भने गत साउन १५ गते जिल्ला अदालत सप्तरीले पक्राउ अनुमति दिएको थियो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार साहले गत मंसिर १६ को उपनिर्वाचनमा ६५२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका थिए । पक्राउ अनुमति लिइएका र तीनवटा गम्भीर प्रकृतिका घटनामा संलग्न साहले उपचुनावमा भाग लिएर चुनावमा जीत हासिल गरेका हुन् । वडाध्यक्षमा निर्वाचित भएपछि कार्यभार सम्हाल्न नपाउँदै शाह हिरासत पुगेका हुन् ।