राजविराज विमानस्थलमा रात्रिकालीन उडान सञ्चालन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले राजविराज विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर)अन्तर्गत कम भिजिबिलिटी भएको अवस्थामा रात्रिकालीन समय पनि अवतरण गर्ने प्रणाली जडान गरेको हो ।
बुद्ध एयरले गत शुक्रबार प्राधिकरण र वायुसेवा कम्पनीका पदाधिकारी तथा प्राविधिकको सहभागितामा इन्स्टु«मेन्ट अवतरणका लागि आवश्यक अप्रोच लाइट र अन्य भिजुअल एड्सको भिजिबिलिटी परीक्षण उडान गरेको थियो । परीक्षण उडान सफल भएसँगै पुस १ बाट विमानस्थलमा इन्स्ट्रुमेन्ट अवतरण सुरु हुने प्राधिकरणले जनाएको छ ।
सो प्रणाली जडानपछि अब राजविराज विमानस्थलबाट २ हजार मिटर भिजिबिलिटीमै रात्रिकालीन समय उडान र अवतरण गर्न सकिने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
अहिले सो विमानस्थलमा भीएफआर उडान मात्र हुने भएकोले उडानका लागि ५ हजार मिटरको भिजिबिलिटी आवश्यक हुने गरेको छ । आइएफआर नियमअन्तर्गत उडान सुरु भए हिउँदका बेला कम भिजिबिलिटीले गर्दा हुने उडान डिले तथा रद्ध हुनेको संख्या घट्ने र यात्रुले समयमै उडान गर्न पाउने सूचना अधिकारी भुलको भनाइ छ ।
आइएफआर तथा रात्रिकालीन उडान उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र प्राधिकरणका महानिर्देशक ई। प्रदीप अधिकारीको सहभागितामा पुस १ गते गरिनेछ ।
योसँगै रात्रिकालीन उडान हुने विमानस्थलको संख्या अन्तर्राष्ट्रिय विमानस्थलसँगै धनगढी, नेपालगन्ज, सिमरा, जनकपुर, चन्द्रगढी, विराटनगर र राजविराज गरी १० पुगेको छ ।