रविलाई सूर्यको जवाफ: दुख पाइस् मङ्गले आफ्नै ढङ्गले

Image

सहकारी बचत रकम हिनामिना छानबिन विशेष संसदीय समितिका संयोजक सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफ्नै कारणले दुःख पाएको बताएका छन् ।

नेकपा एमालेका सांसद समेत रहेका थापाले मङ्गलवार रिपोर्टस क्लबको कार्यक्रममा बोल्दै आफ्ना कारण रविले दुःख पाएको भन्ने कुरामा सत्यता नभएको प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । 

‘अहिले एउटा भाष्य के बनाउन खोजिएको छ भने, रविजीले अस्ति इजलासमा पनि बोल्नुभएछ । संसदीय छानबिन विशेष समितिका सभापति सभापतिको स्क्रिप्टमा मैले यो दुख पाएको छु भन्नुभएछ,’ सांसद थापाले भने, ‘कल्ले हो ? मङ्गले आफ्ना ढङ्गले हो, मेरा कारणले होइन ।’

आफूले संसदीय समितिमा काम गर्दा ‘तथ्य भेटे कसैलाई छोड्दिनँ, नभेटेसम्म कसैलाई दुख दिन्नँ’ भनेर काम गरेको थापाले दाबी गरे । उनले भने, ‘मैले रविलाई समितिमा बोलाउँदा पनि त्यही भनेको हुँ, जो कोहीलाई बोलाउँदा त्यही भनेको हुँ ।’ 

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको विषयमा पनि जे देखेको हो, त्यही सिफारिस गरेको थापाले दाबी गरे । ‘अन्तिमअन्तिम स्थिति तिर जानकारीमा आयो, त्यसपछि पनि म स्थलगत निरीक्षणमा गएँ मितेरी सहकारीतिर । त्यसका अध्यक्षलाई बोलाएको हो, धनराजकी श्रीमती फरार भएर अमेरिका छन्, अनुसन्धानमा ल्याउनुपर्छ भनेर निर्देशन दिएको हो,’ उनले भने ।

‘सहकारी सम्बन्ध विच्छेद भएको हो । धनराजलाई पनि अनुसन्धान गर्नुपर्छ भनेर निर्देशन दिएको छ । प्रतिवेदनमा हेर्न सक्नुहुन्छ,’ उनले भने । 

संसद्मा ढ्यापढ्यापढ्याप ताली बजाएर अनुसन्धान गर्न, कारबाही गर्न सरकारलाई सिफारिस गर्ने अनि त्यही प्रतिवेदन कार्यान्वयन गर्दा खेरी फेरी सरकारले प्रतिशोध साध्यो भन्नु अनैतिक काम भएको पनि थापाले बताए । 

Share