ठूल्ठूला भ्रष्टाचारमा संलग्नलाई मृत्युदण्ड दिनुपर्छ : प्रेम सुवाल

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठूल्ठूला भ्रष्टाचारमा संलग्नलाई मृत्युदण्ड दिने कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

मंगलवार प्रतिनिधिसभा बैठकमा सरकारलाई विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले बलात्कारको जघन्य अपराधमा संलग्न, मानवअधिकारका गम्भीर उल्लंघनकर्ता र नेपालको आन्तरिक कुरा विदेशीलाई पुर्‍याउनेहरूलाई पनि मृत्यदण्डको सजाय दिने गरी सरकारले कानुनी व्यवस्था गर्नुपर्ने बताए।

सांसद सुवालले भने, ‘ठूल्ठूला भ्रष्टाचारी, बलात्कार गरेका अपराधीहरू, मानवअधिकारको गम्भीर उल्लंघन गरेका र नेपालको गुह्य कुरा विदेशीलाई पुर्‍याउने देशद्रोहीलाई अहिलेको संविधान संशोधन गरी मृत्यदण्ड दिने कानूनी व्यवस्था गर्न आवश्यक छ।’

सांसद सुवालले कालापानीबाट भारतीय सेना फिर्ता पठाउन, भारतले मिचेको नेपालका सबै भूमि फिर्ता गर्न पनि सरकारलाई दबाब दिए। उनले काठमाडौं उपत्यका विकास प्राधिकरण आवश्यक नभएको भन्दै तत्काल खारेज गर्न पनि सरकारको ध्यानाकर्षण गराए।