नेपाल भ्रमणमा रहेका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्रयु मिचेलले सोमबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गरेका छन् ।
बेलायती मन्त्री मिचेलले विशेषगरी अस्पतालको मातृ स्वास्थ्य, शिशु स्वास्थ्य तथा बालबालिकाको पोषण कार्यक्रमका बारेमा चासो व्यक्त गर्दै उनले सहयोग वृद्धि गर्ने प्रतिबद्धता जनाए । अस्पतालले उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवाप्रति सराहना व्यक्त गर्दै मिचेलले अस्पतालमा मातृ–शिशु स्वास्थ्य तथा बालबालिकाको पोषणको क्षेत्रमा आर्थिक सहयोग वृद्धि गर्न बेलायत सरकार तयार रहेको बताए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्य सचिव डा. जनार्दत पन्थी, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयलगायतको उपस्थितिमा अस्पतालको स्वास्थ्य अवस्थाबारे छलफल भएको थियो । त्यस अवसरमा मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रका बारेमा जानकारी गराएका थिए ।















