इजरायल पठाइदिने भन्दै ३१ लाख ठग्ने यादव पक्राउ

काठमाडौँ । इजरायलमा आकर्षक तलब हुने भन्दै ठगी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ३ खैरापुर टोल स्थायी घर भई लाजिम्पाट बस्ने २६ वर्षीय सुनिल कुमार यादव रहेका छन् ।

उनले रिता लामा समेत २ जनालाई वैदेशिक रोजगारीमा जिटुजी सम्झौता मार्फत सरकारी कोटामा इजरायल पठाउने भन्दै ठगी गरेको उजुरी परेको थियो । इजरायल जाँदा अठार लाख रुपैयाँ लाग्ने र १ लाख ९० हजार मासिक तलब हुने भन्दै उनले प्रलोभनमा पारेका थिए ।

उनले पीडितहरुबाट पटकपटक गरी जम्मा ३१ लाख रकम लिई सम्पर्क विहीन भएपछि वैदेशिक रोजगार विभागमा उजुरी परेको आधारमा महाशाखाले लाजिम्पाटबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको महाशाखाले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।