नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा रहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले वर्तमान असाधारण संकटबाट पार पाउन कम्युनिस्ट शक्तिबीच एकता र सहकार्य अपरिहार्य रहेको बताए।
प्रचण्डले नेपालको राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्गका मुद्दा तथा वैदेशिक हस्तक्षेपविरुद्धको संघर्षलाई उचित प्राथमिकता दिन नसक्दा अहिलेको अवस्था सिर्जना भएको स्वीकार गरे।
उनले विगतका कमजोरीका लागि राजनीतिक दलहरूले एकअर्कालाई दोषारोपण गर्नुको सट्टा सामूहिक रूपमा गम्भीर आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए।
“अहिले देश साँच्चै संकटमा छ। राष्ट्रिय स्वाधीनतामा सुगौली सन्धिपछि सायद यति भयानक संकट कहिल्यै देखिएको थिएन,” उनले भने।
उनले यो संकटबाट पार पाउन र जनताको विकास तथा समृद्धिको आकांक्षा सम्बोधन गर्न कम्युनिस्ट आन्दोलनको एकता नै मुख्य साँचो भएको बताए।
कम्युनिस्ट शक्तिहरूबीचको एकता र सहकार्यले मात्र राष्ट्रिय स्वाधीनताको रक्षा तथा सुदृढीकरण गर्न सकिने उनको निष्कर्ष थियो।













