एजेन्सी – भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहली र अनुष्का शर्माकी छोरीलाई बलात्कार गर्ने धम्की दिने आरोपी विरुद्धको मुद्दा बम्बई उच्च अदालतले खारेज गरेको छ । मिडिया रिपोर्टका अनुसार कोहली र अनुष्काले आरोपितलाई माफ गरिसकेका छन् । आरोपी आईआईटी स्नातक हुन् ।
बम्बे उच्च अदालतमा, एएस गडकरी र पीडी नायकको बेन्चले सोमबार उजुरी खारेज गर्यो । कोहलीका प्रबन्धक अकिल डिसुजाले हैदरावादका रामनागेश अकुवाथिनी नामका आरोपी विरुद्धको मुद्दा फिर्ता लिन अदालतमा सहमति जनाएका थिए ।
पाकिस्तानसँग हारेपछि आरोपी आक्रोशित भएका थिए
२४ अक्टोबर २०२१ मा, विराट कोहलीको कप्तानीमा रहेको टिम इन्डिया टी–२० विश्वकपमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । यो हारपछि आई आइटी हैदराबादबाट स्नातक गरेका रामनागेशले सामाजिक सञ्जालमा कोहलीको छोरीलाई बलात्कार गर्ने धम्की दिएका थिए ।
नोभेम्बर ८, २०२१ मा, सामाजिक सञ्जालमा धम्की पछि आरोपी विरुद्ध थुप्रै मुद्दा दर्ता गरिएको थियो । ११ नोभेम्बरमा मुम्बई प्रहरीले आरोपीलाई पक्राउ गरेको थियो । पक्राउ परेको ९ दिनपछि मात्रै आरोपीले जमानत पाएका छन् ।













