विभागले गरेको टेन्डरमा मलाई नियतवश मुछियो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय परिचयपत्र सम्वन्धी कार्यविधि र टेन्डरबारे उत्पन्न विवादमा आफ्नो प्रष्टीकरण दिएका छन् । विभागले गरेको टेन्डर आह्वानमा आफ्नो कुनै हस्तक्षेप नरहेको उनको भनाइ छ ।

रवि एक महिना गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्रमा संकलित वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा सेटिङका आधारमा विदेशी कम्पनीलाई दिइएको आरोप सम्वन्धमा उनले फेसबुकमार्फत प्रष्टीकरण दिएका हुन् ।

लामिछानेले राष्ट्रिय परिचयपत्र सम्वन्धी कार्यविधि पहिल्यै तयार रहेको र आफू मन्त्री भएपछि सम्वन्धित अधिकारीहरुको व्रिफिङका आधारमा हस्ताक्षर गरेको उल्लेख गरेका छन् ।

‘त्यो कार्यविधि पनि मैले गृहमन्त्रालयको कार्यभार सम्हाल्नुअघि नै मन्त्रालयमा तयार भएर तर्जुमाका लागि पेश भएको तथ्य मन्त्रालयका जोकसैलाई सोध्दा पनि हुन्छ । संयोगले म गएपछि कार्यविधि स्वीकृत भएको अवस्था हो । मेरो ठाउँमा अरु कोही भएको भए पनि प्रक्रियागत रुपमा अघि बढेको काम यसैगरी स्वीकृत हुन्थ्यो,’ उनले लेखेका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले संकलन गरेको विवरणलाई एकीकृत सार्वजनिक सेवासँग जोड्न नसकिएको तथा राष्ट्रिय परिचयपत्रको प्रयोग केवल राहदानीको लागि विवरण भेरिफिकेसन गर्ने बाहेक अन्यत्र हुन नसकेको भनि आफूलाई व्रिफिङ गरिएको उनको भनाइ छ ।

‘राष्ट्रिय परिचयपत्रको सार्वजनिक सेवासँग आवद्धता गर्नु पर्थ्यो, गर्नुपर्दछ, यसमा कसैको विमति हुन सक्दैन,’ लामिछानेले लेखेका छन्, ‘मलाई गरिएको ब्रिफिङअनुसार सोही प्रयोजनका लागि नागरिकको विवरण प्रमाणीकरण एवं अन्तरप्रणाली आबद्धतासम्बन्धी कार्यविधि, २०७९ स्वीकृत गरिएको हो ।’