कञ्चनपुरमा नक्कली विवाह गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डडेल्धुराको भागेश्वर गाउँपालिका-४ का ३२ वर्षीय विष्णु माली र कञ्चनपुरको वेदकोट नगरपालिका-२ का जनकबहादुर धामी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीका अनुसार माली कञ्चनपुरकी एक युवतीसँग सामाजिक सञ्जाल फेसबुकबाट नजिकिएका थिए । ‘आफू इन्जिनियर भएको र अमेरिकाको भिसा लागिसकेको भन्दै ती युवतीलाई मालीले बिहेका लागि फकाएका रहेछन्,’ डीएसपी जोशीले भने, ‘मालीले बुवा-आमासहितका अन्य परिवारका सदस्य पनि नक्कली खडा गरेर महेन्द्रनगरकै चेतन होटलमा २३ मंसिरमा बिहे गरेका थिए ।’
डीएसपी जोशीका अनुसार विवाहको सम्पूर्ण खर्च भने युवती पक्षले नै गरेको थियो । ‘२३ मंसिरमा विवाह गरेपछि युवती पक्षले बिहेका भिडियो टिकटकमा हालेका रहेछन्,’ डीएसपी जोशीले भने, ‘त्यो भिडियो मालीकी डडेल्धुरामा रहेकी श्रीमतीले देखेर आफ्नो श्रीमान् भएको कमेन्ट गरेकी थिइन् । त्यसपछि पीडित युवतीका परिवारले उनीविरुद्ध बहुविवाहको मुद्दा दिएपछि पक्राउ गरिएको हो ।’
प्रहरीका अनुसार उनले आफ्नो काकाको स्वास्थ्य अवस्था निकै जटिल भएकाले दुःखद खबर आउने भन्दै हतारहतारमा विवाह गराएका थिए । विवाहमा मालीका तर्फबाट धामीसहित ५/७ जना साथीभाइ मात्र सहभागी भएका थिए ।
नातामा मालीका भिनाजु पर्ने धामीले उनीहरूको विवाह गराउन सहजकर्ताको भूमिका निर्वाह गरेका कारण उनलाई पनि पक्राउ गरिएको डीएसपी जोशीले बताए । जोशीका अनुसार माली इन्जिनियर नभएर सार्वजनिक सवारीका सहचालक रहेको खुलेको छ । उनीविरुद्ध बहुविवाहमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।