सासुको हत्या आरोपमा काभ्रेबाट एक युवक पक्राउ

Image

सासुको हत्या आरोपमा काभ्रे प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

मण्डनदेउपुर नगरपालिका १ गैरीगाउँ घिसिङ टोल निवासी ५२ वर्षीया तिनमाया तामाङको हत्या आरोपमा उनकै ज्वाइँ २८ वर्षीय सुकबहादुर तामाङ पक्राउ परेका हुन् । गएको मंसिर ३० गते तिनमाया आफ्नै घरको मझेरीमा मृत फेला परेकी थिइन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा तिनमायाको हत्या आफ्नै ज्वाइँले गरेको देखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मीनबहादुर घलेले जानकारी दिए । पक्राउ परेका सुकबहादुर काभ्रेकै मन्डनदेउपुर २ निवासी हुन् ।

सासुले आफूलाई काम नगर्ने बेकामे भनेर सधैँ गाली गर्ने गरेकाले मुक्का प्रहार गरेर, घरको खाँबोमा टाउको ठोक्काएर हत्या गरेको बयान उनले प्रहरीलाई दिएका छन् ।

सुकबहादुरलाई पक्राउपछि काभ्रे जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।