माओवादीले माग्यो लेखा समिति सभापतिको राजीनामा

योगेश भट्टराईले दिए न्यायिक निरुपणमा जान सुझाव

Image

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा माओवादी सांसद मोदीले समिति सरकारको छायाजस्तो देखिएको भन्दै सभापति पोखरेलको राजीनामा माग गरे ।

सरकारलाई चेक एण्ड व्यालेन्स गर्ने समितिका सभापतिविरुद्ध नै आर्थिक लेनदेनको कुरा उठेकाले मार्गप्रसस्त गर्नुपर्ने उनको भनाइ छ । उनले सहकारीका बारेमा सभापति पोखरेल र परिवारमाथि पनि प्रश्न उठेकाले केही न केही जवाफ दिनुपर्ने बताए । सांसद मोदीले लेखा समितिको सभापति प्रतिपक्षीले पाउनुपर्ने दोहोर्‍याए । ‘लेखा समिति स्वभाविक रुपमा प्रतिपक्षले पाउँछ,’ बैठकमा उनले भने, ‘त्यसैले सभापतिले मार्गप्रशस्त गर्दा राम्रो राम्रो हुन्छ।’

त्यस्तै एमाले सांसद योगेश भट्टराईले लेखा समितिका सभापतिकै बारेमा आर्थिक लेनदेनमा कुरा उठेको अवस्थामा प्रष्ट पार्नुपर्ने बताए । आर्थिक लेनदेनमा आफू ठीक ठाउँमा उभिएमात्रै अरूमाथि नियमन गर्न सहज हुने उनको भनाइ छ । उनले सभापति र उनको परिवारका विषयमा कुरा उठिसकेपछि न्यायिक निरुपणमा जान सुझाव दिए ।

‘सभापतिबारे कुरा उठेको छ । उहाँको श्रीमती एउटा सहकारीमा जोडिएको कुरा छ । उहाँ अदालतमा जानुपर्छ र जानुहुन्छ भन्ने विश्वास छ । न्यायिक निरुपणमा जानुपर्छ,’ उनले भने ।